गाउँका लागि ज्यान दाउमा राख्ने सपनाको मार्मिक कथा
काठमाडौं । गाउँका लागि केही बदल्ने सपना बोकेका पात्रहरू, मृत्युको सम्भावनासमेत स्वीकार्न तयार साहस, अनि त्यसमाथि हास्यको मिठास। यिनै भावनालाई समेट्दै आगामी भदौ १९ गते प्रदर्शनमा आउने फिल्म ‘ककाकिकी’
ले आफ्नो पहिलो झलक सार्वजनिक गरेको छ। माया इन्टरटेन्मेन्टको प्रस्तुति तथा ‘कमेडी दरबार’ टिमको निर्माण रहेको फिल्मले झलकमार्फत गाउँ, सम्बन्ध र त्यागको भावनात्मक कथा संकेत गरेको छ।
झन्डै तीन मिनेट लामो झलकको केन्द्रमा छ– ‘कुलेबारी’ गाउँ। गाउँको भविष्य बदल्ने योजनामा जुटेका पात्रहरू डाँडाको टुप्पोमा बसेर छलफल गरिरहेका छन्। अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ति नाडकर र अभिनेता महेश त्रिपाठीको संवादले झलकलाई अझ जीवन्त बनाएको छ। ‘गाउँका लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला है ?’ भन्ने रेखा थापाको संवादसँगै कथाले भावनात्मक मोड लिन्छ। त्यसपछि गौरी मल्लको ‘एउटा सालिक त बनाउलान् नि हरामीहरूले।’ भन्ने व्यङ्ग्यात्मक अभिव्यक्तिले दर्शकलाई मुस्कान दिन्छ। तर तृप्ति नाडकरको ‘सालिक त बनाउँदैन होला, अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?’ भन्ने जवाफले हाँसोभित्र लुकेको पीडा र गाउँका लागि आफूलाई नै समर्पित गर्ने मनोभावलाई झन् गहिरो बनाउँछ।
पहिलो झलक सार्वजनिकसँगै निर्माण टिमले फिल्मको औपचारिक प्रचार अभियान सुरु गरेको छ। निर्देशकद्वय बिक्की अग्रवाल र **श्रद्धा प्रसाईं**ले आफूहरूले इमानदारीपूर्वक मेहनत गरेर फिल्म तयार पारेको र अब त्यसको मूल्याङ्कन दर्शकले गर्ने बताएका छन्। निर्देशक बिक्की अग्रवालले भने, ‘हामीले अहिले नै ठूलो दाबी गर्दैनौं। राम्रो फिल्म बनाउने प्रयास गरेका छौं, अब बाँकी निर्णय दर्शककै हातमा छ।’ निर्देशक श्रद्धा प्रसाईंले कलाकार र प्राविधिक टोलीको पूर्ण साथका कारण आफूहरू फिल्मप्रति विश्वस्त रहेको बताइन्।
झलक सार्वजनिक कार्यक्रममा कलाकार दिया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर, पवन खतिवडा लगायतले फिल्ममा काम गर्दाका अनुभव सुनाएका थिए। फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र **कमल देवकोटा**को पनि अभिनय रहेको छ।
फिल्मको कथा तथा लेखन निर्देशक बिक्की अग्रवालसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन्। निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् भने अवधारणा सुमन अग्रवालको रहेको छ। स्क्रिप्ट डक्टरको जिम्मेवारी विश्वास तिमल्सिना (बीटी कान्छा)ले सम्हालेका छन्। सुदीप बराल छायाङ्कन निर्देशक, अनिश बुढाथोकी मुख्य सहायक निर्देशक र विशाल राई सहायक निर्देशक रहेका छन्। मेकअपमा अनिस तामाङ, पोसाक डिजाइनमा सुमन परियार तथा प्रोडक्सन हेडमा अरुण रेग्मी छन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ।







