विजेताले मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं। विवाहित तथा एकल नेपाली महिलाको व्यक्तित्व, नेतृत्व क्षमता र सामाजिक योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ। आयोजक रिबन इन्टरटेनमेन्ट प्रालि ले बुधबार ललितपुरको पुल्चोकस्थित द स्क्वायर होटल मा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ संस्करण सार्वजनिक गरेको हो। आयोजकले देशभित्र तथा विदेशमा रहेका योग्य नेपाली महिलालाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।
संस्थाका अध्यक्ष निशुकान्त झाले प्रतियोगितालाई यस वर्ष अझ व्यवस्थित, भव्य र अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाइने बताए। उनका अनुसार यो प्रतियोगिता सौन्दर्य प्रदर्शनमा मात्र सीमित नभई नेपाली महिलाको आत्मविश्वास, नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वलाई विश्वमञ्चसम्म पुर्याउने अभियानका रूपमा स्थापित भइसकेको छ। प्रतियोगिताको पहिलो अडिसन श्रावण २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आर्याल इन्टरनेसनल होटल मा हुनेछ। सहभागीका लागि उचाइ वा तौलको कुनै मापदण्ड राखिएको छैन। न्यूनतम एसईई वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले आवेदन दिन सक्नेछन्। आवेदन खल्ती एप तथा आयोजकको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने व्यवस्था गरिएको छ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई व्यक्तित्व विकास, सञ्चारकला, सार्वजनिक प्रस्तुति, नेतृत्व, र्याम्प वाक, फिटनेस तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष प्रशिक्षण दिइनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले कार्तिक १४ गते काठमाडौंमा आयोजना हुने जनाइएको छ। यस संस्करणको कोरियोग्राफी आश्विनीकान्त झा ले सम्हाल्नेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेल ले गर्नेछन्। प्रतियोगिताको समन्वय गंगा महर्जन, सम्राट शाह र बिन्दिया श्रेष्ठ ले गर्नेछन्।
पत्रकार सम्मेलनमा कोरियोग्राफर आश्विनीकान्त झाले प्रतियोगिताले महिलामा आत्मविश्वाससँगै नेतृत्व र जीवनोपयोगी सीप विकासमा टेवा पुग्ने बताए। सल्लाहकार तथा पत्रकार विदुर गिरी ले मिसेस नेपाल वर्ल्ड नेपाली विवाहित महिलाको सबैभन्दा प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताका रूपमा स्थापित भइसकेको उल्लेख गरे। कानुनी सल्लाहकार तथा अभिनेता कृष्ण ढुंगाना ले प्रतियोगिताले महिला सशक्तीकरणलाई व्यवहारिक रूपमा अघि बढाएको धारणा राखे। यसै अवसरमा मिसेस नेपाल वर्ल्ड २०२५ रक्षा पन्त र मिसेस नेपाल इन्टरनेसनल २०२५ सञ्जु भट्ट ले आफ्नो प्रतियोगिताको अनुभव र उपलब्धिबारे चर्चा गरेका थिए।
यसै मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल २०२६, एमएस इन्टरनेसनल २०२६ र पहिलो पटक मिसेस नेपाल कोस्मो २०२६ समेत चयन गरिनेछ। मिसेस नेपाल वर्ल्ड २०२६ की विजेताले आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् भने मिसेस नेपाल कोस्मोको विजेताले म्यानमारमा आयोजना हुने मिसेस कोस्मो प्रतियोगितामा नेपालको आधिकारिक प्रतिनिधित्व ग
र्नेछिन्। आयोजकका अनुसार रिबन इन्टरटेनमेन्टले विगतका संस्करणमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय उपस्थिति दिलाउँदै आएको छ। सञ्जु भट्ट ले मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् भने पृथ्वीया थापा ले मिसेस वर्ल्ड २०२३ मा सहभागी हुँदै प्रतिष्ठित ह्युम्यानिटेरियन अवार्ड जितेकी थिइन्। यस्ता सफलताले नेपाली महिलाको प्रतिभा, नेतृत्व क्षमता र सम्भावनालाई विश्वसामु अझ प्रभावकारी रूपमा स्थापित गरेको आयोजकको विश्वास छ।






