‘न गाँस्थे म प्रित…’
शब्दमा प्रेम, स्वरमा मिठास र संगीतमा भावनाको गहिराइ बोकेको यही गीतसँगै चिकित्सक डा. रणजित कुमार झाको सांगीतिक यात्राले अर्को सुन्दर अध्याय थपेको छ। गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। चिकित्सा पेसामा बिरामीको जीवन बचाउन समर्पित डा. झाले संगीतमार्फत प्रेम, आकर्षण र जीवनका अव्यक्त अनुभूतिलाई श्रोता तथा दर्शकमाझ पुर्याएका छन्। राजधानीको न्यूरोडस्थित रञ्जना हलमा आइतबार आयोजित विशेष समारोहमा ख्यातिप्राप्त अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा डा. झाको स्वर, शब्द र संगीतमा तयार भएको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
फिल्मी गीतको शैलीमा तयार पारिएको ‘न गाँस्थे म प्रित’मा प्रेमको आकर्षण, भावनात्मक सम्बन्ध र मनभित्र लुकेका अनुभूतिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। यो गीत डा. रणजित कुमार झाको ‘जीवन पथ–२’ एल्बममा समावेश छ। गीतका शब्द, संगीत र स्वर डा. झाकै रहेको छ। यसको एरेन्ज पबिधान खालिङले गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा उनीहरूलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन, कथा लेखन तथा कोरियोग्राफी कबिराज गहतराजले गरेका छन्। रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर तथा जीएफएक्स रहेको छ। सरोज पाण्डेले मेकअप गरेका छन् भने सूर्य ओलीले प्रोडक्सन सम्हालेका छन्।
गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा डा. रणजित कुमार झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए। ‘जीवन पथ–२’ एल्बमअन्तर्गत सार्वजनिक गरिएको ‘न गाँस्थे म प्रित’ले मनभित्र रहेका अव्यक्त प्रेमिल भावनालाई संगीतमार्फत अभिव्यक्त गरेको उनको भनाइ थियो।निर्देशक तथा कोरियोग्राफर कबिराज गहतराजले गीत सुन्नासाथ आफू कल्पनाको संसारमा पुगेको अनुभव भएको बताए। गीतले सिर्जना गरेको त्यही भावनालाई आधार बनाएर आफूले रोमाञ्चक म्युजिक भिडियो तयार गरेको उनले बताए। अध्ययनका सिलसिलामा भारतमा रहेकी भिडियोकी मोडल तथा गायक डा. रणजित कुमार झाकी छोरी सोहल्या झाले भिडियो सन्देशमार्फत आफूले ६ वर्षसम्म सिकेको भरतनाट्यम् यस भिडियोमा काम लागेको बताइन्। बुवाको गीतको भिडियोमा काम गर्न पाउँदा आफू निकै खुशी भएको उनको भनाइ थियो। अर्का मोडल सुरेश कोहलीले ‘न गाँस्थे म प्रित’को म्युजिक भिडियोमार्फत फिल्मी गीत र फिल्मी गीतको भिडियोमा काम गर्दाको छुट्टै अनुभव लिन पाएको बताए।
कार्यक्रममा गायक राजेश पायल राईले डा. रणजितको प्रतिभालाई सुरुमा आफूले सामान्य रूपमा लिए पनि संगत गर्दै उनको स्वर सुनेपछि अद्भुत प्रतिभा रहेको महसुस गरेको बताए। प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले डा. झाको नशा–नशामै संगीत रहेको बताए। म्युजिक भिडियो सार्वजनिक भएसँगै ‘न गाँस्थे म प्रित’ डा. रणजित कुमार झाकै युट्युब च्यानलसँगै विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममार्फत उपलब्ध भएको छ। कार्यक्रममा डा. रणजितको परिचयात्मक भिडियोसँगै उनका आगामी गीत ‘साथी तँ रक्सी नखा’ र **‘रातकी रानी’**को भिडियो ट्रेलरसमेत सार्वजनिक गरिएको थियो।
बिरामीको उपचारदेखि जीवनका अनुभूति गीतमा
एक हातले बिरामीको उपचार गर्ने चिकित्सक र अर्को हातले जीवनका अनुभूति, प्रेम तथा संवेदनालाई गीतमा उतार्ने सर्जकका रूपमा डा. रणजित कुमार झाले आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनले बंगलादेशबाट एमबीबीएस तथा टिचिङ अस्पताल महाराजगन्जबाट एमडी गरेका हुन्। भारतको अपोलो अस्पतालबाट मधुमेह र मुटुसम्बन्धी दुई गम्भीर विषयमा फेलोशिपसमेत गरेका छन्।
सप्तरीको ग्रामीण क्षेत्रस्थित कल्याणपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चिकित्सकीय सेवा प्रारम्भ गरेका डा. रणजितले स्थानीय तहको जिरी अस्पताल, दोलखा, प्रादेशिक अस्पताल, लहान, गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज, त्रिभुवन शिक्षण अस्पताल, महाराजगन्ज हुँदै हाल वीर अस्पतालमा सेवा दिइरहेका छन्। २१ वर्ष लामो चिकित्सकीय सेवा अवधिमा उनले करिब ९ वर्ष विभिन्न अस्पतालको प्रमुखका रूपमा नेतृत्वसमेत गरिसकेका छन्। चिकित्सा क्षेत्रमा जस्तै संगीतमा पनि उनको यात्रा लामो छ। तीन दशक लामो सांगीतिक करियरमा उनले गीत लेख्ने, त्यसमा धुन भर्ने र स्वर दिने काम गर्दै आएका छन्। उनका लागि संगीत मनोरञ्जनको माध्यम मात्र होइन, जीवनका अनुभूति, प्रेम र संवेदनालाई अभिव्यक्त गर्ने माध्यम पनि हो।
स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि तत्कालीन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री, २०७७ बाट विभूषित भइसकेका डा. झा स्वास्थ्य तथा संगीत क्षेत्रमा पुर्याएको योगदान र २०७२ सालको भूकम्पपीडितका लागि गरेको सेवाका कारण हङ्वान्जी बुद्धिस्ट सोसाइटी अफ नेपाललगायत विभिन्न संस्थाबाट सम्मानित भएका छन्।
संगीत क्षेत्रमा पुर्याएको योगदानका लागि उनले नेपाली हिमालयन म्युजिक अवार्ड २०७२, १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०२५ अन्तर्गत म्युजिक खबर संगीतकर्मी सम्मान, निम अवार्ड संगीतकर्मी सम्मान २०२५ लगायत विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। चिकित्साको व्यस्त दैनिकीबीच पनि संगीतलाई निरन्तरता दिँदै आएका डा. रणजितका लागि ‘न गाँस्थे म प्रित’ एउटा गीत मात्र होइन, जीवनका अनुभूतिलाई सुर र शब्दमा पोखिएको अर्को सांगीतिक अभिव्यक्ति हो। बिरामीको उपचारमा जीवन बचाउने प्रयास गर्ने उनका हातहरू नै जब गीत लेख्न र संगीत सिर्जना गर्न चल्छन्, त्यहाँ चिकित्सा र संगीतबीचको एउटा अनुपम संगम देखिन्छ—जहाँ विज्ञानसँगै संवेदना पनि बोल्छ, अनि उपचारसँगै प्रेम पनि गुञ्जिन्छ।






