असोज १६ मा ‘चमेलीको पोइ’, बोहराको निर्देशकीय यात्रामा नयाँ स्वाद

काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘चमेलीको पोइ’ असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। रिलिज मिति नजिकिँदै जाँदा चलचित्रको ट्रेलर, गीत तथा प्रचार सामग्रीले दर्शकमाझ उत्सुकता बढाइरहेका छन्। सार्वजनिक ट्रेलरले हाँसो, पारिवारिक सम्बन्ध र भावनालाई एकै ठाउँमा जोडिएको कथा प्रस्तुत गर्ने संकेत गरेको छ।

लामो समयदेखि चलचित्र निर्देशनमा सक्रिय बोहराले ‘चमेलीको पोइ’मा दर्शकलाई मनोरञ्जनलाई केन्द्रमा राखेर कथा पस्किएको बताएका छन्। उनका अनुसार चलचित्र करिब साढे दुई घण्टा दर्शकलाई बाँधेर राख्ने गरी निर्माण गरिएको छ। कमेडीमार्फत हँसाउने मात्र नभई कथाका केही मोडमा भावनात्मक बनाउने प्रयाससमेत गरिएको उनको भनाइ छ। बोहराको निर्देशकीय यात्रामा ‘चमेलीको पोइ’ अर्को प्रयोगका रूपमा आएको छ। उनले यसअघि फरक कथावस्तु र परिवेशमा ‘अग्निपरीक्षा’, ‘कान्छा’, ‘मुटु’, ‘ठूली’, ‘भैरे’, ‘श्री’ र ‘हेल्लो जिन्दगी’जस्ता चलचित्र निर्देशन गरिसकेका छन्। ती चलचित्रमा सामाजिक विषय, पारिवारिक सम्बन्ध, प्रेम, हास्य र मानवीय संवेदनाका फरक आयामलाई पर्दामा उतार्दै आएका बोहराले यसपटक भने कमेडीलाई बलियो आधार बनाएर पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई कथाको तहमा जोडेको देखिन्छ।

‘चमेलीको पोइ’को अर्को विशेषता कलाकार छनोटमा पनि देखिन्छ। करिब १८ वर्षपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी ठूलो पर्दामा फर्किएका छन्। कुनै समय ‘प्रेमचरो’ नामले नेपाली चलचित्र र टेलिभिजनमा परिचित त्रिपाठीको पुनरागमनले चलचित्रप्रतिको चासो थप बढाएको छ। अमेरिकामा आयोजित विशेष प्रदर्शनबाट पाएको दर्शक प्रतिक्रियाले आफूलाई नेपाली चलचित्रमा पुनः सक्रिय हुन थप उत्साहित बनाएको उनले बताएका छन्। त्रिपाठीका लागि ‘चमेलीको पोइ’ अभिनयमा फर्किने माध्यम मात्र होइन, लामो समयपछि नेपाली दर्शकमाझ पुनः पुग्ने अवसर पनि हो। अमेरिका पुगेपछि नेपाली चलचित्रमा फर्कने चाहना रहे पनि परिस्थितिले साथ नदिएको र बीचमा आफैं चलचित्र निर्माण गर्ने प्रयाससमेत गरेको उनले बताएका छन्। अब भने अभिनयलाई निरन्तरता दिने उनको चाहना छ।

चलचित्रमा मुकुन भुसाल, विल्सन विक्रम राई र उमेश राई ‘फुलन्देकी आमा’ पनि महत्वपूर्ण भूमिकामा छन्। मुकुनले आफूले यसअघि यति कमेडीप्रधान चलचित्र नगरेको बताउँदै ‘चमेलीको पोइ’ले हँसाउनेसँगै केही ठाउँमा गम्भीर बनाउने बताएका छन्। विल्सनका लागि नारायण त्रिपाठीसँगको सहकार्य पुरानो स्मृतिसँग पनि जोडिएको छ। उनले बाल्यकालमै ‘साथी’ चलचित्रमा त्रिपाठीसँग स्क्रिन सेयर गरेको सम्झना सुनाएका छन्। उमेश राईका लागि भने यही चलचित्र ठूलो पर्दाको औपचारिक यात्रा हो।

अभिनेत्री सुरक्षा पन्तका लागि ‘चमेलीको पोइ’ निर्देशक बोहरासँगको दोस्रो सहकार्य हो। यसअघि ‘भैरे’मा काम गरेकी पन्तले आफूले चाहेजस्तो कथा, परिवेश, पात्र र चरित्रमा काम गर्ने अवसर पाएको बताएकी छन्। मुकुन र नारायण त्रिपाठीजस्ता कलाकारसँग काम गर्न पाउनु आफ्ना लागि विशेष अनुभव भएको उनको भनाइ छ।

निर्माता रामनारायण उपाध्यायका अनुसार चलचित्रलाई दर्शकलाई भरपूर मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको हो। मनोरञ्जनसँगै सामाजिक सद्भाव र पारिवारिक प्रेमलाई पनि कथामा समेटिएको उनले बताएका छन्। त्यसैले ‘चमेलीको पोइ’को प्रस्तुति हास्यप्रधान भए पनि यसको कथा पारिवारिक सम्बन्ध र मानवीय भावनाबाट टाढा नरहेको निर्माण पक्षको भनाइ छ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई ‘फुलन्देकी आमा’, अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन ‘खबपु’, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, ऋतु मल्ल ठकुरी र श्रेया नारायणलगायत कलाकारको अभिनय छ।

सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको चलचित्रमा उदयविक्रम राणा, ऋतु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता छन्। नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सहनिर्माता छन्। निर्देशक बोहरालाई लेखनमा शिवम अधिकारीले सघाएका छन्। शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ। असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने ‘चमेलीको पोइ’लाई आरआर फिल्म्सले वितरण गर्दैछ।

रिलिजको मिति नजिकिँदै जाँदा अब बोहराको नयाँ चलचित्रले दर्शकलाई कस्तो अनुभव दिन्छ भन्ने प्रतीक्षा थपिएको छ। विशेषगरी लामो समयपछि पर्दामा फर्किएका नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन र विल्सन विक्रम राईजस्ता कलाकारको उपस्थितिले चलचित्रको चर्चा बढाएको छ। यही चर्चाबीच असोज १६ गते ‘चमेलीको पोइ’ले दर्शकसँग प्रत्यक्ष भेट गर्दैछ।

प्रकाशित : सोमबार, असोज १२, २०८३११:४४