काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापामगरले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
धादिङ क्षेत्र नम्बर २ बाट खुला महिलातर्फ सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले केन्द्रीय सदस्यमा खुला महिलातर्फ उम्मेदवारी दिन लागेकी हुन्।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा सक्रिय थापामगरले सांगीतिक क्षेत्रसँगै सामाजिक र राजनीतिक गतिविधिमा पनि सक्रिय सहभागिता जनाउँदै आएकी छन्। उनका थुप्रै लोक तथा दोहोरी गीत चर्चित छन्।
कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिन लागेको थापामगरको भनाइ छ। कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै अग्रजहरूले देखाएको बाटोमा अघि बढ्ने उनको प्रतिबद्धता छ।
युवापुस्तालाई पार्टीको मूलधारमा जोड्दै महिला सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताएकी छन्। सांगीतिक क्षेत्रको अनुभवलाई सामाजिक तथा राजनीतिक भूमिकासँग जोडेर पार्टी र समाजका लागि योगदान गर्ने उनको संकल्प छ।






