मिस नेवाः नेपालको ताज तिशा शाक्यलाई

सारिका र जेसिका फस्ट र सेकेन्ड रनर्सअप

काठमाडौँ । राजधानीमा सम्पन्न नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ को १९औँ संस्करणको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित अन्तिम प्रतिस्पर्धामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले मिस नेवाः नेपालको ताज पहिरिएकी हुन्।  फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य उपाधिसँगै तिशाले गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितिन्। मुख्य उपाधिबापत उनले एक लाख रुपैयाँ तथा बेस्ट नेपालभाषाबापत थप १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।

प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। फस्ट रनर्सअप सारिकाले ५० हजार तथा सेकेन्ड रनर्सअप जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा विभिन्न विधाका उपाधिसमेत प्रदान गरिएको थियो। सबनम शाक्य मिस ट्यालेन्ट, हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप घोषित भए।

त्यस्तै, करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए। सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने। प्रतियोगितामा दुर्गा देउलाले मिस डिसिप्लिन, हिमानी प्रधानले मिस पब्लिक च्वाइस र प्रिस्टिन अवालेले बेस्ट ड्रेसको उपाधि जिते। शिक्षा महर्जनले नगद १० हजार रुपैयाँसहित कञ्चनजंघा अगरबत्ती मिस कल्चर तथा निश्ला महर्जनले नगद १० हजार रुपैयाँसहित बेलाभिटा मिस पर्सनालिटीको उपाधि प्राप्त गरिन्।

त्यसैगरी, कलशा अवालेले नगद १० हजार रुपैयाँसहित श्री केश बेस्ट हेयर, दृष्टि महर्जनले बेस्ट स्किन, सारिका महर्जनले तस्बिर मिस फोटोजेनिक, अनुष्का नाकर्मीले मिस स्माइल र सोनिया महर्जनले मिस चार्मिङको उपाधि जिते। रेजिना बज्राचार्य मिस फ्रेन्डसिप घोषित भइन्।

नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित, सञ्चारकर्मी, लेक्चरर, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी सहसंस्थापक तथा निर्देशक स्वरूपा श्रेष्ठ र नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी सचिव प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायक थिए।

फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रा. डा. विमला शाक्यको अध्यक्षतामा सम्पन्न प्रतियोगिताले सौन्दर्यसँगै सहभागीहरूको प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषा, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको थियो। नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवा समुदायको भाषा, संस्कृति, कला तथा सामाजिक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यले मिस नेवाः नेपाल आयोजना हुँदै आएको बताइन्। उनका अनुसार प्रतियोगिताले सौन्दर्यमा मात्र सीमित नभई नेवा समुदायको सांस्कृतिक पहिचान र सामाजिक चेतनालाई नयाँ पुस्तासम्म पुर्‍याउने काम गर्दै आएको छ। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो। मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जनले सह–संयोजन तथा मिस नेवाः सकिना महर्जन र कृषा महर्जनले संयोजन गरेका थिए।

प्रकाशित : आइतबार, भदौ ०७, २०८३१३:४२