नातिकाजी संगीत सम्मान तथा पुरस्कार घोषणा

वाग्ले र अधिकारीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार


काठमाडौं । नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार २०८१’ घोषणा गरेको छ । समाजको २०८२ साल चैत १६ गते बसेको बैठकले कलाकार, स्रष्टा तथा पत्रकारहरूलाई पुरस्कार तथा सम्मान गर्ने घोषणा गरेको हो । समाजका सचिव विश्वास घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान गीतकार नारायणकुमार आचार्य, गायक जुजुकाजी रञ्जित, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार, गायक तथा संगीतकार डा. भीमर्जुन आचार्य, संगीतकार निर्वाण सिं गुरुङ, गीतकार साबु गदाल र गीतकार तथा संगीतकार अष्ट लामालाई अर्पण गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बू, गायिका सरीता शाही, एरेन्जर चाँद सिं र रेकर्डिस्ट महेश्वर राजभण्डारीलाई पुरस्कृत गरिनेछ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा तथा गायिका विपना तामाङलाई प्रदान गर्ने निर्णय गरिएको छ भने नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कारबाट प्रमोद उपाध्यायलाई पुरस्कृत गरिने भएको छ । यस्तै नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार पत्रकार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गर्ने निर्णय भएको छ ।
नेपालको सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका अग्रणी संगीतकार, संगीत–महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित कला, व्यक्तित्व र सिर्जनात्मक योगदानलाई संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले स्थापित नातिकाजी स्मृति समाजले नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै, विशिष्ट व्यक्तित्वहरूको सम्मान, प्रतिभाहरूको पहिचान, प्रोत्साहन र नेपाली संगीतको मौलिकता संरक्षणमा समाज निरन्तर सक्रिय रूपमा क्रियाशील छ ।
नातिकाजी स्मृति समाजले हरेक वर्ष नेपाली संगीत क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूको कदर, सम्मान र नयाँ पुस्तालाई हौसला एवं प्रेरणार्थ गीतकार, गायक÷गायिका, संगीतकार, वाद्यवादक, एरेन्जर र कला पत्रकार जस्ता विभिन्न विधाका स्रष्टाहरूलाई संगीत महर्षि नातिकाजी श्रेष्ठको जन्मजयन्ती (पुस ३ गते) का दिन घोषणा गरी ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार’ प्रदान गर्दै आएकोमा यस वर्ष मुलुकमा उत्पन्न जटिल परिस्थिति तथा समाजकी प्रमुख संरक्षिका सरस्वती श्रेष्ठ र समाजका अध्यक्ष शम्भुजीत बास्कोटाकी ममतामयी माताको वैकुण्ठारोहणका कारण पुरस्कार घोषणा ढिलो भएको जनाएको छ ।

प्रकाशित : बिहिबार, चैत १९, २०८२१२:५७