मिस नेवाका प्रतियोगीद्वारा एक लाख बत्ती प्रज्वलन

काठमाडौं । नेप्लीज फेसन होमको आयोजनामा राजधानीमा हुने १९औँ मिस नेवा नेपाल ११४६ का २१ जना प्रतियोगीले आफ्नो उज्ज्वल भविष्य, सफल जीवनयात्रा तथा विश्वमा सुख, शान्ति, समृद्धि र सद्भाव कायम रहोस् भन्ने कामनासहित कुमारी मन्दिरमा एक लाख बत्ती प्रज्वलन गरेका छन्। आध्यात्मिक आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रतियोगीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण मानव समुदायमा सकारात्मक ऊर्जा, सहअस्तित्व र मानवीय मूल्यको प्रवर्द्धन होस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा २१ जना प्रतियोगी, उनीहरूका अभिभावक, पूर्व मिस नेवा नेपाल प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवा सोसियल वेल्फेयर एम्बासडर तिमिला महर्जन, संस्थाकी सल्लाहकार डा. बिमला शाक्य तथा फाइट फर लाइफ नेपालका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्रत्येक प्रतियोगीको सपना साकार होस्, उनीहरूको आगामी यात्रा आत्मविश्वास, अनुशासन र सेवाभावले प्रेरित बनोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। साथै विश्वभर शान्ति, सद्भाव, सहअस्तित्व र मानवीय मूल्यको प्रवर्द्धनका लागि सामूहिक प्रार्थनासमेत गरिएको थियो। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले मिस नेवा नेपाल सौन्दर्य र प्रतिभाको प्रतिस्पर्धामा मात्र सीमित नभई नेवा समुदायको भाषा, संस्कृति, संस्कार, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको प्रवर्द्धन गर्ने अभियानका रूपमा स्थापित हुँदै गएको बताइन्। उनका अनुसार एक लाख बत्ती प्रज्वलन कार्यक्रमले प्रतियोगिताले बोकेको सामाजिक, सांस्कृतिक र आध्यात्मिक सन्देशलाई थप प्रभावकारी रूपमा उजागर गरेको छ।

प्रकाशित : मङ्गलबार, असार १६, २०८३१६:१५

‘माया बस्ला है’ सार्वजनिक, युट्युबमा पाँच लाखभन्दा बढी भ्युज