काठमाडौं। मानिस बाहिरबाट मुस्कुराइरहेको देखिन्छ, तर उसका आँखाले नदेख्ने पीडा, मनभित्रका द्वन्द्व र एक्लोपन सधैं लुकिरहेका हुन्छन्। आधुनिक जीवनको यही अदृश्य यथार्थलाई कथाको केन्द्रमा राख्दै वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह डोपामिन : खुसी र प्रेरणा सोमबार सार्वजनिक गरिएको छ।
कामना न्यूज पब्लिकेसन्स् परिसरमा आयोजित समारोहमा विमोचन गरिएको १८ कथासंग्रहले मानसिक तथा शारीरिक स्वास्थ्य, मानवीय संवेदना, प्रेम, सामाजिक विभेद, न्याय, स्वास्थ्य सेवा र जीवन संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। बाहिरबाट सामान्य देखिए पनि भित्र गहिरो संघर्ष बोकेर बाँचिरहेका पात्रहरूको जीवनयात्रा पुस्तकको मूल कथावस्तु बनेको छ। कृतिमाथि समीक्षा गर्दै समालोचक प्रा.डा. दयाराम श्रेष्ठले डोपामिन नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको सशक्त संयोजन भएको कृतिका रूपमा व्याख्या गरे। उनका अनुसार संग्रहका अधिकांश कथामा साहित्यिक इमानदारी, आख्यानात्मक सौन्दर्य र परिपक्व शिल्पको प्रभाव देखिन्छ। मानिसको मानसिक क्रियाकलाप, मनोद्वन्द्व, हीनताबोध, आत्महत्याको मनोविज्ञान, अशान्त मानसिकता, पलायन, कुण्ठा र यौन शोषणजस्ता जटिल विषयलाई लेखकले संवेदनशील र कलात्मक ढंगले प्रस्तुत गरेको उनको भनाइ थियो। उनले डोपामिन कथा संग्रह मात्र नभई पाठकलाई आफ्नै मनभित्र यात्रा गराउने कृति भएको बताए।
वरिष्ठ पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेतले यो संग्रह कोरा कल्पनामा आधारित नभई जीवनको यथार्थबाट जन्मिएको टिप्पणी गर्दै यसलाई पठनीय मात्र होइन, मननीय र नघोतलीकन सुख नपाइने कृति भने। नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले लेखक अधिकारीको यसअघिको कृति मर्फिन ले पीडाको मौन पक्षलाई उजागर गरेको स्मरण गर्दै यसपटक डोपामिन ले पीडाभित्र लुकेको आशा, प्रेरणा र मानव मस्तिष्कका अदृश्य रासायनिक प्रक्रियालाई साहित्यमार्फत बुझाउने प्रयास गरेको बताए।
लेखक लक्ष्मण अधिकारीले यो पुस्तक शरीरका रोगभन्दा गहिरा मानसिक घाउ बोकेका पात्रहरूको कथा भएको बताए। स्वास्थ्य र मनोविज्ञानको सीमारेखामा उभिएका पात्रहरूको जीवनमार्फत कल्पनासँगै वैज्ञानिक तथ्यलाई कथामा समेट्ने प्रयास गरेको उनको भनाइ थियो। मानिसलाई खुसीको अनुभूति गराउने रसायन डोपामिन जस्तै साहित्यले पनि आशा र ऊर्जा दिन्छ भन्ने विश्वासका साथ पुस्तकको नाम डोपामिन राखिएको उनले बताए।
कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठले डोपामिन नेपाली कथा साहित्यको उल्लेखनीय उपलब्धिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। स्वास्थ्य मासिक साधना का सम्पादकका रूपमा दुई दशकभन्दा बढी समय काम गर्दा लेखक अधिकारीको अनुशासन, समयप्रतिको सम्मान र सिर्जनाप्रतिको निष्ठाले आफूलाई प्रभावित बनाएको उल्लेख गर्दै उनले डोपामिन आधुनिक मानिसको मन, सम्बन्ध, एक्लोपन, चाहना र पीडाको ऐना भएको बताए। नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले समकालीन समाजमा बढ्दो मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई साहित्यमार्फत नयाँ उचाइ दिन डोपामिन सफल हुने विश्वास व्यक्त गरिन्।
मानिसको मनभित्र लुकेका अदृश्य घाउ, मौन पीडा र आशाको झिल्कोलाई कथाको भाषा बनाएको डोपामिन आधुनिक नेपाली कथा साहित्यमा मनोवैज्ञानिक आख्यानको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।







