‘अक्षरा’को दोस्रो पोस्टरले बढायो कौतुहलता

काठमाडौँ – आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘अक्षरा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता सुग्रसेन ढुंगानाको जन्मदिनको अवसर पारेर सोमबार सार्वजनिक गरिएको पोस्टरले फिल्मप्रति दर्शकको उत्साह झन् बढाएको निर्माण पक्षले जनाएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसारलाई थप तीव्र बनाउने उद्देश्यले नयाँ पोस्टर सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार सुशील सिटौलान्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ। दुवै कलाकार गम्भीर भावमा विपरीत दिशातिर फर्किएको दृश्यले चलचित्र प्रेम, सम्बन्धको टकराव, दूरी र भावनात्मक द्वन्द्वमा आधारित हुन सक्ने संकेत गर्छ। पोस्टरको धमिलो पृष्ठभूमिमा देखिएको भीडभाडले व्यक्तिगत सम्बन्धमा समाजको दबाब र असरलाई समेत संकेत गरेको देखिन्छ। दुई पात्रबीचको मौनता र भावनात्मक दूरीले कथामा रहेको संवेदनशीलता झल्काउँछ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको यस चलचित्रमा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्का लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना पनि देखिनेछन्।

झण्डै डेढ महिनासम्म छायाङ्कन गरिएको चलचित्रको निर्देशन विनय राज पौडेलले गरेका हुन्। निर्माता सुग्रसेन ढुंगाना र उग्रसेन ढुंगाना रहेका छन् भने कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। कथावस्तु निर्माता उग्रसेन ढुंगानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखनमा तयार गरिएको हो। चलचित्रमा दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्ने यो चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ।

प्रकाशित : सोमबार, असार २२, २०८३१२:०८

भदौ २६ मा पर्दामा दिल श्रेष्ठको धमाकेदार इन्ट्री