भदौ २६ मा पर्दामा दिल श्रेष्ठको धमाकेदार इन्ट्री

तीन मिस नेपालसँगको रोमान्सले बढायो ‘माया भनेकै यस्तो होला’को चर्चा

काठमाडौं, असार २७
नेपाली चलचित्रमा नयाँ पुस्ताका नायकका रूपमा आशा जगाइरहेका दिल श्रेष्ठ अब ठूलो पर्दामा आफ्नो सबैभन्दा महत्वपूर्ण यात्राका साथ दर्शकमाझ आउने भएका छन्। अभिनय, व्यक्तित्व र आकर्षक उपस्थितिका कारण निर्माण पक्षको विश्वास जितेका दिलले यसपटक एउटै फिल्ममा तीन मिस नेपालसँग अनस्क्रिन रोमान्स गर्दै दर्शकको उत्सुकता उच्च बनाएका छन्। पारिवारिक भावना, प्रेम, सम्बन्ध र जीवनका अनेक मोडलाई समेटिएको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउने भएको छ। रिलिज मिति नजिकिँदै जाँदा निर्माण टिमले सार्वजनिक गरेको नयाँ पोस्टरले फिल्मप्रतिको चासोलाई अझ उचाइमा पुर्‍याएको छ।

शनिबार सार्वजनिक गरिएको पोस्टरको केन्द्रमा नायक दिल श्रेष्ठ छन्। विवाहअघि मनाइने हल्दी समारोहमा उनी दुलाहाका रूपमा देखिएका छन् भने वरिपरि पारिवारिक खुसी, उत्सव र आत्मीय सम्बन्धको रंगीन संसार चित्रित गरिएको छ। पोस्टरले फिल्म प्रेमकथा मात्र नभई भावनाले भरिएको पारिवारिक कथामा आधारित रहेको संकेत गर्छ।

पोस्टरमा नेपाली अभिनयका शिखर व्यक्तित्व मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, अभिनेत्री सृष्टि श्रेष्ठ, नीति शाहनम्रता श्रेष्ठ समेत देखिएका छन्। झकिझकाउ सजावट, पारिवारिक माहोल र सबै कलाकारको उल्लासपूर्ण उपस्थितिले चलचित्रलाई भव्य पारिवारिक उत्सवको झल्को दिएको छ। विशेषगरी नायक दिल श्रेष्ठ र मिस नेपालहरूको उपस्थितिले पोस्टरलाई थप आकर्षक बनाएको छ। मिस नेपाल सृष्टि श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल नीति शाहमिस नेपाल नम्रता श्रेष्ठसँग दिल श्रेष्ठको अनस्क्रिन केमिस्ट्रीलाई लिएर अहिले नै फिल्मवृत्तमा चर्चा सुरु भएको छ। तीन फरक व्यक्तित्व र सौन्दर्य प्रतियोगिताबाट आएका चर्चित अनुहारसँग दिलको अभिनय र रोमान्टिक प्रस्तुतिले दर्शकका लागि नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

पोस्टरमा नम्रता श्रेष्ठको हातमा दुलाहाका लागि ल्याइएको पुष्पगुच्छा देखिन्छ भने ह्विलचेयरमा रहेका मदनकृष्ण श्रेष्ठको उपस्थितिले कथाभित्र गहिरो भावनात्मक पाटो लुकेको संकेत गर्छ। यही संयोजनले फिल्ममा प्रेमसँगै परिवार, सम्बन्ध र त्यागको कथा पनि सशक्त रूपमा प्रस्तुत हुने अनुमान गर्न सकिन्छ।

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ। ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ, विनोद पौडेललगायतका कलाकारको अभिनय रहेको छ। पूर्व मिस नेपाल उषा खड्गी विशेष भूमिकामा देखिनेछिन्।

हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको चलचित्रले पारिवारिक सम्बन्ध, प्रेम र जीवनका भावनात्मक आयामलाई ठूलो पर्दामा उतार्ने निर्माण टिमको दाबी छ। नयाँ पोस्टरसँगै भदौ २६ को प्रदर्शन मिति नजिकिँदै जाँदा ‘माया भनेकै यस्तो होला’ यस वर्षको बहुप्रतीक्षित पारिवारिक चलचित्रमध्ये एकका रूपमा चर्चा बटुल्न थालेको छ।

प्रकाशित : आइतबार, असार २८, २०८३१५:१३