असार ५ मा आउँदै ‘आई एम जीत बहादुर’

काठमाडौँ । अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको चलचित्र ‘आई एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ । फस्र्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म २०८३ असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो । केही समयअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।
बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको यस फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ । फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन् ।
फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको ससक्त अभिनय रहेको छ । कलाकारहरूको यस्तो संयोजनले फिल्मप्रति दर्शकको उत्साह अझ बढ्ने निर्माण टिमको विश्वास छ ।
कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।
निर्देशक सुभेन्दु घोषकै कथा तथा निर्देशनमा बनेको ‘आई एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । अभिनेता जितु नेपालले तीन दशकभन्दा बढीको कलाकारिता यात्रामा दर्जनौँ चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रकाशित : सोमबार, बैशाख १४, २०८३१५:५८