काठमाडौं । गायक तथा र्यापर आर रोयल (रमण खड्गी) को नयाँ गीत ‘माया बस्ला है’ सार्वजनिक भएको छ। केही दिनअघि रिलिज गरिएको गीत विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्मसँगै सुपरस्टार इन्टरटेन्टमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। ‘माया बस्ला है’ सुपरस्टार इन्टरटेन्टमेन्टको दोस्रो म्युजिक भिडियो परियोजना हो। यसअघि कम्पनीले रुथलेसको स्वरमा रहेको ‘नखोज मेरो फाइदा तिमी’ सार्वजनिक गरेको थियो, जसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो।
आर रोयलकै शब्द तथा संगीत रहेको गीतलाई आधुनिक डान्सिङ बिट्स र मेलोडिक शैलीमा तयार गरिएको छ। दीप्सन र रुथलेसले निर्माण गरेको गीतको मिक्सिङ तथा मास्टरिङ रुथलेसले गरेका हुन्। गीतको म्युजिक भिडियोमा आर रोयल र निशा श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा प्रेम र आकर्षणको भावलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ। विभिन्न आकर्षक सेटमा छायांकन गरिएको भिडियोमा अश्मी भुजेलको कोरियोग्राफी र विधान प्रधानको निर्देशन रहेको छ।
सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा पाँच लाखभन्दा बढी भ्युज बटुलिसकेको छ। गीतको संगीत, दृश्य प्रस्तुति र कलाकारहरूको केमेस्ट्रीप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ। गायक आर रोयलले यस गीतमार्फत आफ्नो भावना र सांगीतिक शैलीलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरेको बताए। निर्देशक विधान प्रधानले पनि दर्शकको माया र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी महिनाहरूमा सुपरस्टार इन्टरटेन्टमेन्टबाट थप नयाँ सांगीतिक परियोजनाहरू सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।







