१०० वर्षअघिको नेपाली समाज र जातीय विभेदको यथार्थ पर्दामा
काठमाडौं । करिब एक सय वर्षअघिको नेपाली समाज, त्यतिबेलाको जीवनशैली, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको टेलिसिरिज ‘यो कथा होइन’ को औपचारिक घोषणा गरिएको छ। सिरिजको पहिलो प्रोमोसमेत सार्वजनिक गरिएको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गत मंगलबार अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित विशेष समारोहबीच सिरिजको घोषणा गरिएको हो। कार्यक्रममा कला, मनोरञ्जन र सञ्चार क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाको योगदानको प्रशंसा गर्दै नयाँ सिरिजप्रति उत्साह व्यक्त गरे।
उनले भने, “श्रीप्रसाद थापा नेपाली सिरिजका लोकप्रिय कलाकार हुन्। उहाँले निर्माण गर्ने सामग्री सधैं उत्कृष्ट हुन्छ। ‘लाहुरेको करिम बोल’ गीतबाट पनि उहाँलाई धेरै दर्शकले चिन्छन्। ‘यो कथा होइन’ शीर्षकले नै वास्तविक घटनाको झल्को दिन्छ। पहिलो भाग हेर्न म निकै उत्साहित छु। सम्पूर्ण टिमलाई शुभकामना।” सिरिजका प्रमुख कलाकार रवि गिरीले आफू पनि महत्वपूर्ण भूमिकामा रहेको बताउँदै निर्माण टोलीले निकै मेहनतका साथ काम गरेको बताए। उनले भने, “हामीले फरक स्वाद र प्रस्तुतिसहितको सिरिज बनाउने प्रयास गरेका छौं। अहिलेका सिरिजभन्दा यो केही पृथक् हुनेछ। दर्शकले मन पराउनुहुनेछ भन्ने विश्वास छ।”
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले संस्थाको आयोजनामा सिर्जनात्मक कार्यक्रम गर्न पाउँदा गर्व लागेको बताए। उनले भने, “श्रीप्रसाद थापा र रवि गिरीजस्ता अनुभवी कलाकार आबद्ध सिरिजको घोषणा गर्न पाउनु हाम्रो संस्थाका लागि गौरवको विषय हो। प्रोमोले नै नेपाली मौलिकता झल्काएको छ। सम्पूर्ण निर्माण टोलीलाई सफलताको शुभकामना।”
सिरिजका लेखक, निर्देशक तथा मुख्य अभिनेता श्रीप्रसाद थापाले लामो अन्तरालपछि आफ्नै कथा र निर्देशनमा नयाँ सिर्जना ल्याएको बताए। उनका अनुसार ‘यो कथा होइन’ मनोरञ्जनमा मात्र सीमित नभई नेपाली समाजको इतिहास र यथार्थलाई उजागर गर्ने प्रयास हो। उनले भने, “धेरैपछि आफ्नै कथा लेखन र निर्देशनमा यो सिरिज ल्याएको हुँ। यसमा आजभन्दा करिब १०० वर्षअघिको नेपाली समाज चित्रण गरिएको छ। त्यतिबेलाको जीवनशैली, सामाजिक अवस्था, जातीय विभेद र समाजभित्रका विभाजनलाई यथार्थ रूपमा देखाउने प्रयास गरेका छौं। नेपाली समाजका धेरै पक्षहरू सिरिजमा समेटिएका छन्।” सिरिजको कथा, निर्देशन तथा मुख्य अभिनय श्रीप्रसाद थापाकै रहेको छ। छायांकन सागर खड्का, घरश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेलले गरेका छन्। सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ भने सह–निर्देशन सन्देश लामिछाने र दीप्त प्रकाशले गरेका छन्।







