‘ड्रेस टु इम्प्रेस’मा चार डिजाइनर उत्कृष्ट

काठमाडौं, असार २७
नेपालको अग्रणी फेसन शिक्षा संस्था स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइन (आईआईएफटी) ले आयोजना गर्दै आएको चर्चित फेसन डिजाइन प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस’ को १३औँ संस्करण शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धामा चार फरक अवधारणाअन्तर्गत उत्कृष्ट डिजाइनर छनोट हुँदै नयाँ प्रतिभाहरू सम्मानित भएका छन्।

काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य प्रेक्षालयमा आयोजित प्रतियोगितामा आईआईएफटी बागबजार र कुमारीपाटीका १५५ विद्यार्थीले आफ्ना सिर्जनात्मक डिजाइन प्रस्तुत गरेका थिए। ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वर्ल्ड’, ‘ग्यालाक्टिक फेसन’ र ‘अ प्यारालल युनिभर्स’ शीर्षकका चार सिक्वेन्समा विभाजित प्रस्तुतीले दर्शकलाई तीन घण्टासम्म मन्त्रमुग्ध बनाएको थियो।

प्रतिस्पर्धाको ‘डान्सिङ विथ द स्टार्स’ विधामा प्रेशा थापा उत्कृष्ट डिजाइनर घोषित भइन् भने पब्लिक च्वाइस अवार्ड सुजाता खनालले जितिन्। ‘अराउन्ड द वर्ल्ड’मा सुस्मिता ढुंगाना उत्कृष्ट डिजाइनर बन्नुका साथै पब्लिक च्वाइस अवार्डसमेत आफ्नै नाममा पारिन्।

त्यसैगरी ‘ग्यालाक्टिक फेसन’मा जया थापा उत्कृष्ट डिजाइनर घोषित हुँदा अनुराधा बोहरा कार्की पब्लिक च्वाइस अवार्डबाट सम्मानित भइन्। ‘अ प्यारालल युनिभर्स’ विधामा सृजना श्रेष्ठ उत्कृष्ट डिजाइनर बनिन् भने श्रीति पाण्डेले पब्लिक च्वाइस अवार्ड जितिन्।

उत्कृष्ट डिजाइनर चारै जनाले जनही २० हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र उपहार प्राप्त गरे। पब्लिक च्वाइस विजेताहरूले जनही १० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र तथा विभिन्न उपहार हात पारे।

प्रतियोगिताको मूल्यांकन अग्रज फेसन डिजाइनर तथा उद्यमी मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेसन डिजाइनर महेश महर्जनले गरेका थिए। कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

कार्यक्रममा अभिनेत्री दिया मास्के, एलिजा गौतम, टेलिभिजन प्रस्तोता तथा मिस इको इन्टरनेसनल सेजल राजभण्डारी र सञ्चारकर्मी ओसिन सिटौलालगायतको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

आकर्षक प्रकाश सजावट, लयबद्ध संगीत र भव्य मञ्चमा विद्यार्थीहरूले आफ्नै सिर्जना आफैँ मोडल बनेर प्रस्तुत गर्दा कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको फेसन शोको अनुभूति दिलाउने खालको देखिन्थ्यो। मौलिक सोच, सिर्जनशीलता र प्राविधिक सीपको संयोजनले युवा डिजाइनरहरूले आफ्नो क्षमता प्रभावशाली रूपमा प्रदर्शन गरेका थिए।

आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले ‘ड्रेस टु इम्प्रेस’ विद्यार्थीका प्रतिभा उजागर गर्ने प्रतिष्ठित मञ्चका रूपमा स्थापित भएको बताए। उनले हरेक वर्ष प्रतियोगितालाई अझ स्तरीय र भव्य बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई नयाँ अवधारणामा काम गर्ने, सिर्जनात्मक क्षमता निखार्ने र व्यावसायिक यात्राको बलियो आधार तयार गर्ने अवसर प्रदान गरिरहेको बताए।

प्रकाशित : आइतबार, असार २८, २०८३१५:०४