काठमाडौं । आगामी असोज २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रु नेपाल प्रालिको प्रस्तुतिमा बनेको फिल्मले पहिलो गीतमार्फत आमाप्रतिको सम्मान र पारिवारिक संवेदनालाई दर्शकमाझ प्रस्तुत गरेको हो। सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतका शब्दले आमाको त्याग, माया र महिमालाई मार्मिक रूपमा चित्रण गर्नुका साथै वृद्धाश्रममा बस्न बाध्य भएका आमाबुबाको यथार्थलाई पनि उजागर गरेको छ। निर्माण पक्षका अनुसार गीतले फिल्मको मूल कथावस्तुको भावसमेत बोकेको छ। गीतको भिडियोमा अतिथि कलाकारका रूपमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिएका छन्। साथै आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुसाल र चैत्यदेवी सिंहलाई पनि गीतमा समेटिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। विष्णु घिमिरे ‘कल्पित’ को डीओपी रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। गीतको दृश्यांकनमा निर्माण पक्षले विशेष मेहनत गरेको देखिन्छ। कोरियोग्राफर रामजी लामिछानेले गीतको भावअनुसार दृश्य संयोजन गरेका छन्, जसले गीतलाई थप प्रभावशाली बनाएको छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय रहेको छ। परिच्छेद सेनको पटकथा तथा संवाद, गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन तथा विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन रहेको फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर छन्। निर्माण पक्षले केही दिनअघि पोस्टर सार्वजनिक गर्दै प्रचार अभियानलाई तीव्र बनाएको थियो। अब पहिलो गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता थप बढ्ने अपेक्षा गरिएको छ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसकै सिक्वेलका रूपमा निर्माण भएको ‘झिंगे दाउ २’ ले पनि दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ।







