जहाँ पुगे पनि आफ्नो संस्कृति बिर्सिनु हुँदैन भन्ने विश्वास बोकेका धीरजले साथीभाइहरूसँग मिलेर लन्डनमा नेपाली संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्ने कम्पनीसमेत स्थापना गरिसकेका छन् ।
आफ्नो माटो, सँस्कृति र गर्दै आएको पेसालाई भूगोलको सीमानाले बाँध्न नसक्ने रहेछ । शरीर हजारौं किलोमिटर टाढा पुगे पनि मन भने आफ्नै देशको आँगन अनि आफूले गर्दै आएको कर्ममा डुलिरहने रहेछ । अनि आफ्ना चाडपर्व, सँस्कार, संगीत, भेषभूषा र परम्पराको सम्झनाले बारम्बार सताइरहे रहेछ । अहिले यही भावनाको जिउँदो उदाहरण बनेका छन् मिस्टर काठमाडौं–२००१ का उपाधि विजेता, चर्चित मोडल, कोरियोग्राफर, इभेन्ट आयोजक तथा व्यवस्थापक धीरज तण्डुकार ।
उज्ज्वल भविष्यको खोजीमा एक वर्षअघि बेलायत पुगेका धीरजलाई त्यहाँको व्यस्त जीवनशैली, आधुनिकता र रमझमले आफ्नो मूल पहिचान बिर्साउन सकेन । बरु नेपालप्रतिको माया झन् गाढा बनायो । कामको व्यस्तता सकेपछि पनि उनले आफ्नो कला, संस्कृति र सामाजिक सक्रियतालाई निरन्तरता दिइरहेका छन् । नेपालबाट टाढा भए पनि नेपाललाई मनभित्र बोकेर हिँडिरहेका धीरज बेलायतमा हुने कला, संस्कृति र फेसनसँग सम्बन्धित कार्यक्रममा सक्रिय सहभागिता जनाइरहेका छन् ।
कहिले आफैं कार्यक्रम व्यवस्थापन गर्छन्, कहिले अरूले आयोजना गरेका नेपालीपन झल्काउने कार्यक्रममा अग्रपङ्क्तिमा उभिन्छन् । नेपाललाई चिनाउने, नेपाली संस्कृतिलाई जोगाउने र नयाँ पुस्तासम्म पु¥याउने उनको प्रयास निरन्तर जारी छ । सँस्कृति र परम्पराले सम्पन्न नेवार समुदायमा हुर्किएका धीरजले लन्डनमा पनि आफ्नो पहिचानलाई जीवन्त राखेका छन् । उनी कहिले लन्डनवासी नेपाली समुदायलाई एकै ठाउँमा भेला पारेर तिहारको अवसरमा भव्य म्हपूजा आयोजना गर्छन्, त कहिले भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको झल्को दिने गरी लिंगो ठड्याएर उपस्थित नेपालीहरूलाई आफ्नै जन्मभूमिमा पुगेको अनुभूति गराउँछन् ।
एक वर्षको छोटो अवधिमै उनले दर्जनौं सांस्कृतिक कार्यक्रममा सहभागिता जनाइसकेका छन् भने धेरै स्मरणीय कार्यक्रमहरूको सफल आयोजना पनि गरिसकेका छन् । लन्डनमा आयोजना हुने अधिकांश नेपाली महोत्सवहरूमा उनको उपस्थिति रहन्छ । नेपाल महोत्सवमा उनले देखाएको सक्रियता प्रशंसनीय रह्यो । त्यति मात्र होइन, स्थानीय स्तरमा आयोजना हुने भिक्टोरिया महोत्सवमा पनि उनले नेपाली सँस्कृति प्रस्तुत गर्ने अवसर गुमाएनन् । धीरज र उनको समूहले परम्परागत नेपाली पहिरनमा सजिएर धिमे बाजासहित महोत्सवमा सहभागिता जनायो । विभिन्न देशका कलाकारहरू आ–आफ्नो संस्कृति झल्काउने भेषभूषामा उपस्थित भएको त्यो कार्यक्रममा नेपाली टोलीको प्रस्तुतिले विशेष आकर्षण सिर्जना ग¥यो । एक घण्टासम्म चलेको रोड शोमा धिमे बाजाको तालसँगै नेपाली संस्कृति प्रस्तुत हुँदा स्थानीय दर्शकहरू समेत मन्त्रमुग्ध बने । नेपाली कला र संस्कृतिको त्यो प्रस्तुति महोत्सवकै चर्चित आकर्षणमध्ये एक बन्यो ।
त्यसैगरी, नेवारी संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि स्थापना गरिएको पाचपुचः गुठीको आयोजनामा लन्डनको सडकमा नै नेपाल झल्कने गरी म्हपूजा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा धीरज र उनको परिवारले सक्रिय भूमिका निर्वाह गरेको थियो । पाचपुचः गुठीकै आयोजनामा हजारौं नेपालीहरू सहभागी भएर रथ तान्दै बिस्केट जात्रा मनाउँदा उपस्थित धेरैको आँखामा भक्तपुरको सम्झना झल्किएको थियो । एकछिनका लागि सबैले आफूहरू नेपालमै रहेको अनुभूति गरेका थिए ।
नेवारी खानाको प्रवद्र्धनका लागि आयोजना हुने भोजहरूमा पनि धीरजको सिर्जनात्मक योगदान देखिन्छ । यस्तै एक कार्यक्रममा उनले नेवारी संस्कृति केन्द्रित विशेष फेसन शो आयोजना गरेका थिए । उक्त फेसन शोमा नेवार समुदायको गुफा राख्ने परम्परा, पास्नी, व्रतबन्ध, विवाह तथा मृत्यु संस्कारसम्मका जीवनचक्रसँग जोडिएका रीतिरिवाजहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको थियो । जन्मदेखि मृत्युसम्मका संस्कारहरू एउटै मञ्चमा हेर्न पाउँदा दर्शकहरू भावुक बनेका थिए । धेरैले पहिलोपटक आफ्नो संस्कृतिको यति व्यापक र कलात्मक प्रस्तुति एकै ठाउँमा देख्न पाएका थिए ।
लन्डनमा आयोजना हुने नेपाली चलचित्रका च्यारिटी सो हुन् वा अन्य सांस्कृतिक कार्यक्रम, धीरजको सक्रिय उपस्थिति देखिन्छ । उनी हाल एपेक्स हेल्थ केयर सर्भिसमा कार्यरत छन् । व्यावसायिक जिम्मेवारीसँगै सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आएका धीरजले आफ्नो लगनशीलता, अनुशासन र व्यावसायिक दक्षताका कारण कार्यक्षेत्रमा समेत सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।
उनको यो सांस्कृतिक यात्रामा परिवारको साथ पनि उत्तिकै प्रेरणादायी छ । उनकी छोरी रिभ्या तण्डुकार स्वयं प्रतिभाशाली बालप्रतिभा हुन् । उनले ‘मिस्टर एन्ड मिस युनिभर्सल नेपाल’ प्रतियोगितामा दोस्रो रनरअपको उपाधि प्राप्त गरेकी छन् । ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’ प्रतियोगितामा फोटोजेनिक अवार्ड जितेकी रिभ्याले ‘नेशनल किड्स अफ द इयर’ मा दोस्रो रनरअप तथा सिंगापुरमा आयोजित ‘इन्टरनेशनल किड्स अफ द इयर’ प्रतियोगितामा प्रथम रनरअपको गौरवपूर्ण सफलता हासिल गरेकी छन् । अहिले उनी पनि आफ्ना पितासँगै लन्डनमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी भइरहेकी छन् । बाबुछोरीको यो सांस्कृतिक यात्रालाई धीरजकी जीवनसाथी रत्नाले निरन्तर साथ दिइरहेकी छन् । यसरी एउटा परिवार नै नेपाली कला, संस्कृति र पहिचानको दूत बनेर सात समुद्रपारि नेपालीपनको उज्यालो फैलाइरहेको छ ।
जहाँ पुगे पनि आफ्नो संस्कृति बिर्सिनु हुँदैन भन्ने विश्वास बोकेका धीरजले साथीभाइहरूसँग मिलेर लन्डनमा नेपाली संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्ने कम्पनीसमेत स्थापना गरिसकेका छन् । आगामी दिनमा यही संस्थामार्फत अझ व्यापक रूपमा नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ पु¥याउने उनको योजना छ ।
नेपालमा सन् २००० मा मोडलिङ क्षेत्रमा प्रवेश गरेका धीरजले सन् २००१ मा मिस्टर काठमाडौंको उपाधि जितेपछि मोडलिङ क्षेत्रमा छुट्टै पहिचान बनाए । त्यसपछि उनले ग्यालेक्सी र बेटर ग्यालेक्सी मोडलिङ एजेन्सी स्थापना गरी विगत २४ वर्षदेखि विभिन्न कार्यक्रमहरूको सफल आयोजना गर्दै आएका छन् ।
बालबालिकामा रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले उनले ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’, ‘नेसनल किड्स अफ द इयर’, ‘मिसेस क्विन नेपाल’, ‘मिस्टर एन्ड मिस टिन’, ‘मोडल हन्ट’, ‘फेसन एन्ड स्टाइल’ लगायत अनेकौं फेसन शो आयोजना गरेका छन् । फुटबल खेलाडीहरूलाई समेटेर ‘ग्ल्यामर एन्ड स्पोट्र्स’ तथा ‘नाडा अटो शो’ जस्ता कार्यक्रमहरू समेत सफलतापूर्वक सञ्चालन गरेका छन् । यति मात्र होइन, उनले अभिनय क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाएका छन् । केही चलचित्रहरूमा अभिनय गर्नुका साथै मोहन भुसाल, निर्णय श्रेष्ठ लगायतका चर्चित गायकका म्युजिक भिडियोहरूमा समेत अभिनय गरेर आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरेका छन् ।
आज धीरज विदेशमा बसेर पनि आफ्नो देश, संस्कृति र पहिचानलाई माया गर्ने नेपाली मनको प्रतिनिधि पात्र बनेका छन् । उनको यो यात्राले ‘देश छोड्न सकिन्छ, तर देशप्रतिको माया कहिल्यै छोड्न सकिँदैन’ भन्ने दर्शाउँछ । आफ्ना सन्तानलाई राम्रो भविष्य दिन बेलायत पुगेका धीरज आज त्यही भूमिमा उभिएर नेपाललाई चिनाइरहेका छन्, नेपाली संस्कृतिको दीप जलाइरहेका छन् र नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति गर्व गर्न सिकाइरहेका छन् ।













