वेलकम ब्याक दिल

केही वर्ष पहिले निकै उत्साह र आशाका साथ एकजना शालीन, भद्र अनि अनुशासित युवा ठूलो आत्मविश्वास लिएर नायक तथा निर्माताका रूपमा नेपाली रजतपटमा प्रवेश गरेका थिए । त्यतिबेला उनले न त लगानीकर्ताका रूपमा आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्न कुनै कन्जुस्याइँ गरे, न अभिनयमा । तर उनको त्यो विश्वासमाथि खेलवाड गर्दै आत्मविश्वासमा यसरी ठेस पु¥याइयो कि मानौँ अब उनी कहिल्यै उठ्नै सक्दैनन् । अझ दुःखको कुरा के थियो भने, उनलाई यसरी जालोमा फसाउँदै लैजाने अरु कोही नभएर उनकै वरिपरि घुम्ने साथीभाइ अनि असली शुभचिन्तक बनेर आश्वासन बाँड्ने अनि रुख चढाएर फेद काट्ने छद्मभेषीहरू नै थिए, जसले सिनेमा राजनीतिको चक्रव्यूहमा मिनेट–मिनेटमा फसाउँदै लगे । जब ती सबै राजनीतिक दाउपेचको पर्दा उठ्यो, तब उनी छाँगाबाट खसेझैँ भए । मन असाध्यै कुँढियो, रोयो । किनकि उनले ती व्यक्तिहरूबाट धोका पाएका थिए, जसलाई आफूभन्दा पनि बढी विश्वास गरेका थिए ।
तर समय सधैं एकनास चल्दैन । दिनहरू बित्दै जाँदा उनले पनि यहाँको परिवेश बुझे, राजनीतिक जोडघटाउका सूत्र थोरै भए पनि पत्ता लगाए अनि अभिनय यात्राको त्यही अतृप्त महत्त्वाकांक्षा पूरा गर्न पूर्ण तयारीका साथ पुनः रजतपटमा फर्किए । उनी अर्थात् दिल श्रेष्ठ अनि उनको नयाँ चलचित्र हो, ‘माया भनेकै यस्तो होला’ । उनलाई शुभकामनासहित यो माया नगरीमा न्यानो स्वागत । तर यस पटक भन्नै पर्छ, यहाँ केही व्यक्ति परिवर्तन भए होलान्, तर प्रवृत्ति त्यति धेरै फेरिएको छैन । अहिले त झन् चलचित्र बनाउन जति गाह्रो छ, त्योभन्दा धेरै गाह्रो चलचित्र हलसम्म पु¥याउन र प्रदर्शन गर्न छ । पुराना अनुभवले पक्कै धेरै कुरा सिकाएको छ, त्यसैले ती पाठको सही सदुपयोग गर्दै अघि बढ्नका लागि पुनः शुभकामना ।
अब एकछिन दिल श्रेष्ठले अभिनय गरेको नयाँ चलचित्र ‘माया भनेकै यस्तो होला’ का बारेमा थोरै चर्चा गरौँ । यो चलचित्रमार्फत् उनी मात्रै सिने नगरीमा कमब्याक गर्दै छैनन्, नेपाली रजतपटमा साहसी नायिकाको परिचय बनाएकी रेखा थापा आठ वर्षपछि पुनः निर्देशकका रूपमा फर्किएकी छन् । यसअघि थापाले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन् ।
रेखा निर्देशित ‘माया भनेकै यस्तो होला’ ले भर्खरै आफ्नो प्रदर्शन मिति र वितरक पनि तय गरेको छ । चलचित्र २०८३ भदौ २६ गते अर्थात् हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने भएको छ भने वितरणको जिम्मा रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले लिएका छन् । ‘दिया एन्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा दिल श्रेष्ठसहित पूर्वमिस नेपालद्वय सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ विशेष भूमिकामा छन् भने पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको पनि अभिनय छ । फिल्मका निर्माता हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन् भने पटकथा ध्रुव लम्सालले लेखेका छन् । चलचित्रको छायांकन सुदीप बरालले गरेका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख ११, २०८३१६:०८

पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको तयारी पूरा