केएमसीले यसरी बचायो अर्को एउटा जीवन…

सुनसरीको गढी गाउँपालिका–१ का अशोककुमार चौधरीका लागि त्यो रात जीवनकै सबैभन्दा कठिन घडी थियो । आफ्नी ५२ वर्षीया पत्नीलाई बेहोस अवस्थामै राति करिब १० बजे काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगल ल्याइपु¥याउँदा उनी निकै आत्तिएका थिए । कामको सिलसिलामा काठमाडौंमै रहेका उनीहरू सामान्यजस्तै साँझ बिताइरहेका थिए । तर खानाखाने बेलामा उनकी पत्नीले एक्कासि सहनै नसक्ने गरी टाउको दुखेको बताइन् । पीडा यति गहिरो थियो कि उनी क्षणभरमै बेहोस हुन पुगिन् ।
के गर्ने, कहाँ लैजाने भन्ने अन्योलमा परेका अशोकले हतारहतार पत्नीलाई भीमभवनस्थित सिभिल अस्पताल पु¥याए । त्यहाँ सिटी स्क्यान गर्नुपर्ने सुझाव दिइयो । त्यसपछि समय खेर नफाली उनले पत्नीलाई तुरुन्तै केएमसी लगे ।
केएमसी पुगेलगत्तै गरिएको सिटी स्क्यानले अवस्था निकै गम्भीर रहेको देखायो । मस्तिष्कको तरल पदार्थ रहने भागमा रगत जमेको थियो । त्यसपछि न्युरो इन्टरभेन्सन विशेषज्ञ डाक्टर अरुण पौडेलको टोलीले सिटी एन्जियोग्राफी ग¥यो । रिपोर्टले झन् जटिल तस्बिर देखायो । मस्तिष्कका दुवै भागमा तीनवटा एन्युरिज्म अर्थात् रगतका बेलुन देखिएका थिए, र तीमध्ये एउटा त फुटिसकेको थियो । त्यही फुटेको बेलुनका कारण मस्तिष्कमा रगत जमेको थियो ।
त्यतिबेला प्रत्येक सेकेन्ड अति महत्वपूर्ण थिए । बिरामीलाई तुरुन्तै क्याथल्याब लगियो र फुटेको एन्युरिज्मलाई सफलतापूर्वक ‘कोइलिङ’ गरेर टालियो । बिरामीको अवस्था स्थिर भएको केही समयपछि बाँकी दुईवटा एन्युरिज्मको पनि उपचार सुरु गरियो । तीमध्ये एउटा आँखामा रगत आपूर्ति गर्ने संवेदनशील नशासँग जोडिएको थियो जसका कारण खुल्ला शल्यक्रिया जोखिमपूर्ण थियो । किनकि यसो गर्दा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा थियो । त्यसैले चिकित्सकहरूले अत्याधुनिक ‘फ्लो डाइभर्टर’ प्रविधिको सहारा लिए । विशेष प्रकारको स्टेन्टमार्फत नयाँ रक्तप्रवाह मार्ग निर्माण गरियो, जसले सुरक्षित रूपमा रगतको बहाव पुनः स्थापित ग¥यो ।
यो उपचारपछि अवस्था क्रमशः सुधारिँदै गयो । केही दिनमै चेतनास्तर उल्लेखनीय रूपमा बढ्यो र अन्ततः अशोककी पत्नी नयाँ जीवन लिएर अस्पतालबाट डिस्चार्ज भइन् ।
कुनै समय यस्तो अवस्थाको उपचारका लागि खुल्ला शल्यक्रिया अनिवार्यजस्तै थियो–जटिल, जोखिमपूर्ण र सधैं सफल नहुने । कतिपय अवस्थामा बिरामीलाई सिंगापुर, नयाँदिल्ली वा अमेरिका लैजानुपर्ने बाध्यता थियो । तर आज, केएमसीमा उपलब्ध अत्याधुनिक न्युरो इन्टरभेन्सन प्रविधिका कारण यस्ता जटिल रोगहरूको उपचार बिना ठूलो चिरफार, सुरक्षित र प्रभावकारी रूपमा सम्भव भएको छ । केएमसीमा अत्याधुनिक क्याथल्याब सुविधा र विदेशबाट विशेष प्रशिक्षण प्राप्त चिकित्सकहरूको टोलीले मस्तिष्क, रक्तनली र मस्तिष्कघात सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध गराउँदै आएको छ । प्रविधि र विशेषज्ञताको यही समन्वयले असम्भवजस्तै देखिने अवस्थालाई पनि सम्भव बनाइरहेको छ ।
छोटो समयमै निकै गम्भीर रोगको सफल उपचार पाएकोमा अस्पताल परिसरबाट डिस्चार्ज हुँदै गर्दा चौधरी दम्पतीले आफ्नै मातृ भाषमा केएमसी अस्पताल, उपचारमा सम्लग्न डाक्टर तथा नर्सहरूलाई विशेष धन्यवाद दिँदै विदा भए ।

प्रकाशित : बिहिबार, बैशाख ०३, २०८३१५:०१