केएमसीका उत्कृष्ट कर्मचारी पुरस्कृत, सरसफाइमा योगदानको उच्च कदर

। काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले आफ्नो मातहतमा रही उत्कृष्ट तथा प्रशंसनीय कार्य गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ । बुधबार आयोजित एक विशेष कार्यक्रममा अस्पतालको सरसफाइ विभाग अन्तर्गत कार्यरत कर्मचारीहरूलाई नगद पुरस्कार तथा खादासहित सम्मान गरिएको हो ।
अस्पताल प्रशासनले सरसफाइ जस्तो अत्यन्त संवेदनशील र आधारभूत सेवामा समर्पित कर्मचारीहरूको योगदानको उच्च कदर गर्दै उनीहरूलाई सम्मान गरेको जनाएको छ । यसपटक सम्मानित हुनेहरूमा सरसफाइ विभागका सुपरभाइजर सुमन पौडेलसहित कर्मचारीहरू कृष्ण गुरुङ, सावित्रा भण्डारी, तारा सापकोटा, बिना सिलवाल, अञ्जना श्रेष्ठ र विनिता भण्डारी रहेका छन् ।
कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख व्यवस्थापन परामर्शदाता केपी शर्माले सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै अस्पतालको स्वच्छता र व्यवस्थित वातावरण कायम राख्न उनीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले आगामी दिनमा अझ उच्च स्तरको सरसफाइ कायम गर्न थप जिम्मेवारीका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, अन्य विभागका उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई पनि यस्तै प्रकारले सम्मान गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।
त्यसैगरी, अस्पताल प्रमुख डा. मीना थापाले पुरस्कारको आकारभन्दा पनि त्यसले दिने प्रेरणा महत्वपूर्ण हुने बताइन् । “पुरस्कार सानो हुन सक्छ, तर यसले कर्मचारीहरूलाई अझ मेहनतका साथ काम गर्न हौसला प्रदान गर्छ,” उनले भनिन् । अस्पतालले यस्ता कार्यक्रममार्फत कर्मचारीहरूको मनोबल उच्च राख्ने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित : बिहिबार, चैत १९, २०८२१०:१७

केएमसीले यसरी बचायो अर्को एउटा जीवन…