कुशल छायाँकार शैलेन्द्रध्वज कार्कीको निर्देशनमा पोखरेली मसिनो नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्रको सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजासहित शुभमुहूर्त सम्पन्न गरिएको छ । थुप्रै सुपरहिट चलचित्र छायांकनक गरिसकेका कार्कीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा बाबु–छोरीको सम्बन्ध र संघर्षको कथा हेर्न पाइने छ । कार्कीलाई निर्देशनमा उनकी अभिनेत्री पत्नी शान्ति गिरीले पनि सघाउने छिन् । चलचित्रमा निर्देशक कार्कीकै लगानी रहने बताइएको छ ।
कार्कीले चामलको लोकप्रिय प्रजाति मनसरापछि चामलकै अर्को प्रजातिका नाममा पोखरेली मसिनो शीर्षकमा चलचित्र बनाउन लागेका हुन् । फिल्ममा शान्ति गिरीको लेखन तथा शैलेन्द्र–शान्तिको पटकथा रहनेछ ।
शुभमुहूर्त कार्यक्रममा निर्माता÷निर्देशक दीपेन्द्र गौचन, कलाकार टीका पहाडी, परीक्षा लिम्बू, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको सहभागिता थियो । चलचित्रको छायाँकन बुधबारदेखि पोखराबाट सुरु हुनेछ र ३० दिनमा छायांकन समाप्त हुने निर्देशक कार्कीले जानकारी दिए । चलचित्रमा टीका पहाडी, प्रवीण खतिवडा, परीक्षा लिम्बू, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारको अभिनय रहने छ । आगामी वर्षको बडा दशैंलाई लक्षित गरी रिलिज गरिने यो चलचित्रमा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डीओपी र निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्र करिब तीन करोड रुपैयाँको लगानीमा निर्माण हुने बताइएको छ ।
‘पोखरेली मसिनो’मार्फत निर्देशनमा डेब्यु गर्दै शैलेन्द्रध्वज कार्की

प्रकाशित : सोमबार, भदौ ०९, २०८२१८:५४