‘पार्वती’मा दीपाश्री, छायांकन असोजबाट

काठमाडौं । अभिनेत्री तथा निर्देशक नीता ढुंगानाको चलचित्र ‘पार्वती’मा अर्की अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अनुबन्ध भएकी छन् । उनीहरूबीच मंगलबार सम्झौता भएको हो । नीताले आफूलाई नायिकाका रुपमा अनुबन्ध गरेपछि दीपाश्रीले १२ वर्षअघिको सहकार्य स्मरण गरेकी छन् । १२ वर्षअघि चलचित्र ६ एकान ६ मा दुवैले एकसाथ काम गरेका थिए ।
दीपाश्री छक्का पञ्जा सिरिजकी सफल निर्देशक तथा अभिनेत्री हुन् । दीपाश्री अनुबन्धित हुनुअघि यो फिल्मका लागि चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भएका थिए । नीताले निर्देशन गर्न लागेको यो चलचित्रमा उनी आफै मुख्य भुमिकामा देखिने छन् ।
असोजदेखि छायांकन सुरु हुने चलचित्रका दुईवटा पोस्टर समेत सार्वजनिक भइसकेका छन् । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ । चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । चलचित्रमा नीता, दीपाश्रीका अलावा अन्य कलाकारहरूको नाम भने सार्वजनिक हुन बाँकी छ ।
चलचित्रको कथा नीताले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । छायांकन कवीर लाल र शाहिद लालले गर्नेछन् । फिल्ममा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुंगानाले लगानी गर्दैछन् । चलचित्रको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

प्रकाशित : बिहिबार, साउन २९, २०८२१९:०८

भाद्र २० मा खरेलको ‘चिट्ठी’ आउँदै