काठमाडौं । सातदेखि १३ वर्ष उमेर समूहका चार सय बालबालिकाबाट छनोट भएका १८० प्रतिभा ‘नेशन्स गट ट्यालेन्ट सिजन–३’को मेगा अडिसनमा पुगेका छन्। स्थानीय तहबाट सुरु भएको प्रतिभा खोजीको यात्रा अब निर्णायक प्रतिस्पर्धाको चरणमा प्रवेश गरेको छ। एएनपी मिडिया हाउसले आयोजना गरेको रियालिटी शोका लागि गत वैशाखदेखि विभिन्न स्थानीय तहमा अडिसन सञ्चालन गरिएको थियो। स्थानीय तहमा भएको प्रारम्भिक छनोटमा चार सय बालबालिकाले सहभागिता जनाएका थिए। त्यसमध्ये उत्कृष्ट १८० प्रतिभा मेगा अडिसनका लागि छनोट भएका हुन्।
‘नेशन्स गट ट्यालेन्ट सिजन–३ किड्स डान्स’को मेगा अडिसन बिहीबारदेखि ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक हुन थालेको छ। एपीवान स्टुडियोमा छायांकन गरिएको मेगा अडिसनमा निर्देशक तथा कोरियोग्राफर केशव राज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायकका रूपमा रहेका छन्। मेगा अडिसनबाट भने प्रतिस्पर्धीको संख्या थप घट्नेछ। आयोजकका अनुसार १८० प्रतिभामध्ये ८० जना टेलिभिजन राउन्डमा प्रवेश गर्नेछन्। एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार निर्णायकको छनोटबाट ६० जना र दर्शकको भोटिङबाट २० जना गरी ८० प्रतिभा छनोट गरिनेछ।
यससँगै बाल प्रतिभाका लागि प्रतिस्पर्धाको स्वरूप पनि परिवर्तन हुनेछ। स्थानीय तहमा आफूभित्रको प्रतिभा प्रस्तुत गरेका बालबालिकाले अब निर्णायकको मूल्यांकनसँगै दर्शकको रोजाइसमेत पार गर्नुपर्नेछ। १८० बाट ८० जनाको छनोटले टेलिभिजन राउन्ड प्रवेशको प्रतिस्पर्धालाई थप रोचक बनाउने आयोजकको अपेक्षा छ। प्रनीमा दाहालले सञ्चालन गरिरहेको शोमा शम्भु प्रसाद रेग्मी संयोजक, अनीता तामाङ प्रशासन प्रमुख तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्की इभेन्ट म्यानेजर रहेका छन्। स्थानीय तहबाट सुरु भएको बाल प्रतिभाको खोजी अब मेगा अडिसन पार गर्दै टेलिभिजनको मुख्य प्रतिस्पर्धातर्फ अघि बढेको छ।






