स्टारहरूको वर्षा : ‘मन विनाको धन २’ मा विपिन कार्कीको धमाकेदार प्रवेश

काठमाडौं । नेपाली चलचित्र बजारमा बहुप्रतीक्षित फिल्म ‘मन विनाको धन २’ ले फेरि ठूलो चर्चा बटुलेको छ। यसपटक फिल्ममा लोकप्रिय अभिनेता विपिन कार्कीको औपचारिक प्रवेश भएपछि निर्माण टिम उत्साहले भरिएको छ। यसअघि नै पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र किरण केसी फाइनल भइसकेको फिल्ममा विपिन जोडिएसँगै स्टार लाइनअप अझ सशक्त बनेको हो।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा तथा निर्देशन टंक बुढाथोकीले नै सम्हालेका छन् भने पटकथा लेखनको जिम्मा शिवम् अधिकारीले लिएका छन्। अहिले फिल्मको प्रि–प्रोडक्सन काम तीव्र गतिमा अघि बढिरहेको छ र छायांकनको तयारी अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ। फिल्ममा विपिन कार्कीको भूमिकाबारे भने अहिले गोप्य राखिएको छ। तर निर्देशक टंक बुढाथोकीका अनुसार उनीसँग केही समयदेखि निरन्तर छलफल भइरहेको थियो र विपिन कथावस्तुप्रति निकै उत्साहित देखिएका छन्। निर्देशकले भने, “दर्शकले विपिन कार्कीलाई यसपटक बिल्कुल नयाँ अवतारमा देख्न पाउनुहुनेछ।”

फिल्मको अर्को ठूलो आकर्षण पूजा शर्मा र विपिन कार्कीको पहिलो पटकको सहकार्य हो। दुई स्टार पहिलो पटक एउटै पर्दामा देखिन लागेकाले उनीहरूको केमिस्ट्री कस्तो हुनेछ भन्ने जिज्ञासा दर्शकमाझ झन् बढेको छ। सामाजिक कथावस्तुमा आधारित यस फिल्मले मानवीय सम्बन्ध, भावना र जीवनका उतारचढावलाई केन्द्रमा राख्ने बताइएको छ। गत वर्ष प्रदर्शनमा आएको ‘मन विनाको धन’ ले करिब चार करोड रुपैयाँको ग्रस कलेक्शन गर्दै राम्रो सफलता हात पारेको थियो। सोही सफलताको निरन्तरता स्वरूप यसपटक ‘मन विनाको धन २’ लाई अझ भव्य र प्रभावशाली बनाउने तयारी गरिएको छ। स्टारकास्टदेखि कथावस्तुसम्म बलियो बन्दै गएको यो फिल्मलाई अहिले नै नेपाली सिनेमा क्षेत्रमा निकै प्रतीक्षित प्रोजेक्टका रूपमा हेरिएको छ।

प्रकाशित : बुधबार, असार १७, २०८३१३:३८

‘ककाकिकी’ को पहिलो झलक