एनोभामा भित्रियो ‘ट्रिभेलिनी माम्बा’ प्रविधि

अत्याधुनिक कपाल प्रत्यारोपण सेवा सुरु

ललितपुर– जावलाखेलस्थित एनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण क्षेत्रमा प्रयोग हुने अत्याधुनिक ‘ट्रिभेलिनी माम्बा’ प्रविधि नेपालमा भित्र्याएको छ। क्लिनिकले नयाँ डिभाइस सार्वजनिक गर्दै अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवाको औपचारिक सुरुआत गरेको हो। ललितपुरमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा. सरीसा श्रेष्ठ, सोसल मिडिया इन्फ्लुएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ, मान्सी तामाङ, ‘मिस्टर फुडी’ तथा क्रिकेटर ललित राजवंशी लगायतले उक्त उपकरणको अनावरण गरेका थिए।

क्लिनिककी सञ्चालिका डा. श्रेष्ठले नयाँ प्रविधिले कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, सुरक्षित र प्रभावकारी बनाउने बताइन्। उनका अनुसार यो प्रणालीले चिकित्सकलाई बढी नियन्त्रणसहित सूक्ष्म रूपमा काम गर्न सहयोग गर्छ, जसले उपचारको गुणस्तर सुधार गर्छ। चिकित्सकहरूका अनुसार ‘ट्रिभेलिनी माम्बा’ प्रणालीले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने प्रक्रियामा उच्च नियन्त्रण, न्यून क्षति र राम्रो गुणस्तर कायम गर्न सहयोग पुर्‍याउँछ। विभिन्न गति र मोड समायोजन गर्न सकिने भएकाले बिरामीको कपाल र छालाको अवस्थाअनुसार उपचार गर्न सकिने यस प्रविधिको विशेषता हो। विश्वका विभिन्न हेयर रिस्टोरेसन केन्द्रहरूमा प्रयोग हुँदै आएको यो प्रणाली आधुनिक FUE प्रविधिमध्ये एक मानिन्छ। यसको प्रयोगले प्रत्यारोपणपछि प्राकृतिक देखिने नतिजा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

क्लिनिकका अनुसार नेपालमा पहिलोपटक भित्र्याइएको यस प्रविधिमार्फत अन्तर्राष्ट्रियस्तरको कपाल प्रत्यारोपण सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। कपाल झर्ने समस्याबाट प्रभावित सेवाग्राहीले अब नेपालमै अत्याधुनिक उपचार सुविधा पाउने क्लिनिकले जनाएको छ। कार्यक्रमका अवसरमा एनोभा स्किन एण्ड हेयर क्लिनिककी प्रमुख डा. श्रेष्ठ, भारतका वरिष्ठ छाला रोग विशेषज्ञ डा. असीम शर्मा र काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलका छाला रोग विभाग प्रमुख डा. मनिषा सिंहबीच अन्तरक्रिया पनि गरिएको थियो। उक्त छलफलमा नेपालमा हावापानी र वातावरणीय प्रदूषणका कारण छाला तथा कपालको स्वास्थ्यमा परिरहेको असर, त्यसको रोकथाम तथा नयाँ प्रविधिको उपयोगिताबारे चर्चा गरिएको थियो। क्लिनिकले नवीन प्रविधि र गुणस्तरीय सेवाप्रति प्रतिबद्ध रहँदै विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा नेपालमै उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। एनोभा स्किन एण्ड हेयर क्लिनिक जावलाखेलस्थित ज्वाला भवनको तेस्रो तलामा सञ्चालनमा रहेको छ।

प्रकाशित : मङ्गलबार, असार १६, २०८३१४:२४