काठमाडौं– सुशील पोखेरेलले निर्माण गरिरहेको बहुप्रतिक्षित चलचित्र ‘परालको आगो’ को टिजर दर्शकमाझ आएको छ । टिजरमा श्रीमान् श्रीमतीबीचको मनमुटाव र द्वन्द्व प्रस्तुत गरिएको छ । प्रकाश सपुत र सुहाना थापा श्रीमान् श्रीमतीको भुमिकामा छन् । श्रीमती पधेँरोबाट पानी लिएर ढिलो आएको निहुँमा श्रीमान्ले उनलाई कुट्छन् । छिमेकीको रुपमा रहेका सौगात मल्ल र उनकी श्रीमतीले झगडा छुट्याउन जाँदा प्रकाशले ‘अर्काको लोग्ने स्वास्नीको बीचमा नआएकै राम्रो’ भन्न खोजिरहेका छन् । चलचित्रको टिजरमा नेपाली समाजको यथार्थ परिदृश्य चित्रण गर्न खोजिएको छ । ग्रामीण परिवेश र परम्परागत पहाडी पृष्ठभूमिमा देखिने नेपाली समाजको यथार्थ कथा प्रस्तुत गरिएको छ ।
टिजरमा मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र सौगात मल्ललाई प्रस्तुत गरिएको छ । निर्माण टिमले नारी दिवसको अवसर पारेर चलचित्रको नेपाली गाउँघरको मौलिकता झल्काउने पोस्टर पनि सार्वजनिक गरेको छ । गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुशील देवकोटाको लेखन रहेको फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, मिलन श्रेष्ठको सम्पादन रहने छ भने कनाल कँवरले रंग संयोजन गरेका छन् ।
त्यसैगरी यो फिल्ममा भीएफएक्स समीर मिया र सत्यम् रानाको रहने छ भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानको छ । मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन् ।
फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले भरेका छन् । फिल्मका गीत मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन् । यस्तै फिल्ममा कला निर्देशन प्रतीक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करणबहादुर साउदको छ । फिल्म २०८३ वैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
परालको आगोको मन छुने टिजर

प्रकाशित : सोमबार, फागुन २५, २०८२१२:०२






