काठमाडौं ः आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘आबाट आमा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ । टिजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेर सुतेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोइरहेका छन् ।
फिल्मको टिजरले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ । निर्देशन चन्द्र पन्तले परदेशिन लागेका नेपाली युवाको कथालाई पर्दामा उतारेका छन् ।
आगामी माघको १६ गतेबाट रिलिज हुने यो फिल्ममा प्रदीप रावत, विपना थापा र पल शाहका अलवा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतले अभिनय गरेका छन् । साथै बालकलाकारमा समाइरा थापा र शान अधिकारी रहेका छन् ।
निर्देशक पन्तकै कथा, पटकथा रहेको यस फिल्ममा अभिमन्यू निरवीले लेखेका हुन् । फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन् ।
यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन् । नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलीप ओखडाको कोरियोग्राफी रहेको फिल्मका गीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनारको संगीत सुन्न सकिने छ । यस फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने फिल्मलाई आरआर फिल्मका लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्दैछन् ।
चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ को टिजर रिलिज

प्रकाशित : सोमबार, मङि्सर २२, २०८२१९:२६






