साउन ३१ मा मिसस नेपालको अडिसन

। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड–२०२५ का लागि साउन ३१ गते अडिसन गरिने भएको छ । अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । इच्छुकले खल्ती एपमार्फत, रिबन इन्टरटेनमेन्टको वेबसाइट वा आयोजकको शंखमूलस्थित कार्यालय तथा सोही दिन होटलमा प्रत्यक्ष आवेदन दिन सक्नेछन् ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर अश्विनी झाले प्रशिक्षण दिनेछन् भने विभिन्न विषयका विज्ञले नियमित तालिम दिनेछन् । गंगा महर्जन र सम्राट शाहको संयोजनमा भदौ १८ गतेदेखि प्रशिक्षण सुरु हुने आयोजक संस्थाले जनाएको छ । यस वर्षको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपा प्रज्ञा प्रतिष्ठानमा हुनेछ । सोही अवसरमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताहरू पनि घोषणा गरिने छन् ।
रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाले यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकाको लस भेगासमा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने बताएका छन् । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागी हुने मौकासमेत पाउनेछन् । मिसेस वल्र्ड–२०२२ मा नेपालको तर्फबाट दीक्षा केसीले सहभागिता जनाएकी थिइन् भने मिसेस वल्र्ड–२०२३ मा पृथ्वीया थापाले सहभागीता जनाएर मिसेस ह्युमनिटरियन उपउपाधि अवार्ड प्राप्त गर्न सफल भएकी थिइन् । यस बर्ष डेनिला कार्कीले मिसेस वल्र्ड–२०२५ मा प्रतिनिधित्व जनाउने छिन् । साथै, विगतका वर्षजस्तै यस वर्ष पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय एकजना अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०८२१९:०१

दीपाशा स्मृति छायाँछवि पुरस्कार सञ्चितालाई