बास्कोटालाई विन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं – १६औँ विन्ध्यवासिनी म्युजिक अवार्डमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । विन्ध्यवासिनी फाउन्डेसनको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा बसेको सल्लाहकार समिति तथा कार्य समितिको संयुक्त बैठकले विन्ध्यबासिनी म्युजिक अवार्ड २०८२ मा सम्मानित र पुरष्कृत हुनेको नाम सार्वजनिक गरेको हो ।
संगीतकार शम्भुजीत बास्कोटालाई एक लाख नगद र सम्मानपत्रसहित विन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित गरिने भएको छ । त्यसैगरी ५० हजार नगद र सम्मानपत्रसहित यसपटकको विन्ध्यवासिनी संगीत साधना सम्मान २०८२ बाट गीतकार विजय शिवाकोटी र २५ हजार नगद र सम्मानपत्रसहित पत्रकार पवन आचार्यलाई विन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरिने भएको छ । विन्ध्यवासिनी फाउन्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष गायक स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोक–संगीत सम्मान २०८२ बाट २५ हजार नगद र सम्मानपत्रसहित लोकदोहोरी गायक पशुपति शर्मालाई सम्मान गरिने छ ।
यस वर्षबाट अवार्डको विधा घटाइएको विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लीना रेग्मीले जानकारी गराएकी छन् । उनका अनुसार यस वर्षबाट पब्लिक च्वाइस अवार्डसमेत गरी कुल ११ विधामा अवार्ड प्रदान गरिनेछ । यसै वर्षबाट हरेक विजेतालाई ट्रफीसहित पाँच हजार नगदसमेत प्रदान गरिने रेग्मीले जानकारी गराइन् । विन्ध्यवासिनी म्युजिक अवार्डको १६औं संस्करण आगामी चैत्र २७ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने अवार्डका सञ्चालक सुवास रेग्मीले जानकारी गराए ।

 

प्रकाशित : बुधबार, चैत ०४, २०८२१६:५५