नेपालमा कलेजो प्रत्यारोपण अत्यन्त महँगो र जटिल मानिने उपचार हो । धेरै बिरामी उपचारका लागि विदेश जान बाध्य हुने गरेका छन् । तर केएमसीमा यो सेवा निरन्तर सञ्चालनमा आउनु र सफलतापूर्वक चौथो प्रत्यारोपण सम्पन्न हुनु स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ ।
काठमाडौं—सुदूरपश्चिमको कैलाली, घोडाघोडी–१० का ५८ वर्षीय एक पुरुषका लागि जीवन लगभग थामिएको थियो । कलेजोको जटिल रोगले थलिएका उनी दिनप्रतिदिन मृत्युसँग नजिकिँदै थिए । परिवारको आँखामा डर थियो, समयसँगै आशा मर्दै थिए । तर त्यहीँ घरभित्रबाट आयो जीवनको सबैभन्दा ठूलो उपहार—५० वर्षीया बहिनीले दाजुलाई कलेजो दान गर्ने निर्णय गरिन् ।
अस्पतालका लागि पनि यो उपचार एउटा चिकित्सकीय प्रक्रिया मात्र थिएन, रगतको सम्बन्धले जीवनलाई पुनर्जन्म दिएको कथा थियो । काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको सफल शल्यक्रियापछि अहिले दुवै दाजु–बहिनी स्वस्थ भएर १४ औँ दिनमै डिस्चार्ज भएका छन् । अस्पतालमा सम्पन्न भएको यो चौथो सफल कलेजो प्रत्यारोपण हो, जसले नेपालमै जटिल उपचार सम्भव छ भन्ने विश्वासलाई थप बलियो बनाएको छ ।
यो कठिन र संवेदनशील शल्यक्रिया लिभर ट्रान्सप्लान्ट सर्जन डा. रोशन घिमिरे र लिभर ट्रान्सप्लान्ट फिजिसियन डा. सागर पौड्यालको नेतृत्व तथा दिल्लीको अमृता अस्पतालको सहयोगमा भएको हो । अनुभवी चिकित्सक, दक्ष नर्सिङ टोली र अत्याधुनिक प्रविधिको संयोजनले यो जटिल कार्यलाई सम्भव बनायो ।
दाजुको शरीरमा जीवन हराउँदै जाँदा बहिनीले आफ्नो शरीरको एउटा अंश दिएर पुनर्जीवन दिइन् । शल्यक्रियापछि दुवैजनाको स्वास्थ्य अवस्था राम्रो रहनु चिकित्सकहरूका लागि मात्र होइन, सिंगो परिवारका लागि पुनर्जन्मको क्षण बन्यो ।
नेपालमा कलेजो प्रत्यारोपण अत्यन्त महँगो र जटिल मानिने उपचार हो । धेरै बिरामी उपचारका लागि विदेश जान बाध्य हुने गरेका छन् । तर केएमसीमा यो सेवा निरन्तर सञ्चालनमा आउनु र सफलतापूर्वक चौथो प्रत्यारोपण सम्पन्न हुनु स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ ।
यो सफलताले एकजना बिरामीको जीवन मात्रै बचाएको छैन, यसले सयौँ बिरामीका लागि आशाको ढोका पनि खोलेको छ । अस्पतालका अनुसार समयमै उपचार पाए कलेजोसम्बन्धी जटिल रोगबाट पीडित धेरै बिरामीको ज्यान जोगाउन सकिन्छ । स्वदेशमै यस्तो सेवा विस्तार हुनु आर्थिक रूपमा कमजोर परिवारका लागि झन् ठूलो राहत हो । तर यो सफलताको सबैभन्दा मार्मिक पक्ष भनेको दाजु–बहिनीको सम्बन्ध हो । जहाँ एउटी बहिनीले आफ्नो शरीरको अंश दिएर दाजुको जीवन फर्काइन् । चिकित्सा विज्ञानले सम्भव बनाएको यो चमत्कार मानवीय प्रेम र त्यागको सबैभन्दा सुन्दर उदाहरण बनेको छ । नेपाली कांग्रेसका लोकप्रिय युवानेता डा. सुनीलकुमार शर्माद्वारा सञ्चालित केएमसीमा निरन्तर भइरहेको कलेजो प्रत्यारोपणले अब नेपालमै विश्वस्तरको उपचार सम्भव छ भन्ने सन्देश पनि दिएको छ ।







