काठमाडौंँ । ‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट सो’ का लागि २८ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।
अडिसन चरणमा ९० भन्दा बढी ब्यक्तिले गायन, नृत्य, अभिनयलगायत थुप्रै बिधामा आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए । तीमध्यबाट गायन, नृत्य, अभिनय लगायत विधा समेट्दै २८ प्रतियोगी छानिएका हुन् । नेपाली बालबालिका र युवाहरूले आफ्नो कला, सिर्जनशीलता र प्रतिभा विश्वसामु गर्वका साथ प्रस्तुत गर्नसक्ने बनाउन प्रतियोगिता आयोजना गरिएको इभेन्ट डाइरेक्टर रमेशजंग शाहीले बताए । प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिभा र फेसनको क्षेत्रमा मात्र होइन, विश्वस्तरमा नेपाली युवाहरूलाई चम्किन सक्ने अवसरको ढोका खोल्ने उनको विश्वास छ ।
फाइनलका लागि छानिएका प्रतियोगीहरूमा गोकुल पोखरेल, राजन बराइली, परिष्णा क्षेत्री, प्रमिशा तामाङ, पुष्पाञ्जली भट्टराई, मनोग्य शर्मा, रुकेश गिरी, आशु ढकाल, प्रियांशु न्यौपाने, प्रीति परियार, नम्रता मैनाली, समीप न्यौपाने, विज–इ–वन, अर्पणा घतानी, सोफिया विष्ट, सुस्मिता नेपाली, विवेक दनुवार, नमुना शाही, रितु सुनार, आँचल तामाङ, रोबिया आचार्य, श्रेया रौनियार, कल्पना महतो, अर्नव लकन्दरी, कुसुम भण्डारी, अल्विन खनाल, रुथ देवी र आयुष घिमिरे रहेका छन् ।
प्रतियोगीताका विजेताले आगामी अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म टर्कीको एन्टाल्यामा आयोजना हुने प्रतिष्ठित प्रतियोगिता र फेसन विकको सातौँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य र नेसनल डाइरेक्टर श्रीमती प्रमिला सिलवाल रहेका छन् ।
गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट सो विश्वभरका बालबालिका र युवाहरूलाई एउटै मञ्चमा ल्याउने प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रम हो जसले गायन, नृत्य, अभिनय, मोडलिङ्देखि वाद्यवादनसम्मका प्रतिभाहरूलाई प्रस्तुत गर्ने अवसर दिने गरेको छ ।
प्रतियोगिताका विजेता जिनो पे मार्फत हुने सार्वजनिक मतदान र निर्णायकहरुको मूल्यांकका आधारमा घोषणा हुनेछ । प्रतियोगिताको विजेता छनौट भदौं १४ गते आयोजना हुने पहिलो राष्ट्रिय ट्यालेन्ट सोबाट हुनेछ ।
‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट सो’ मा २८ प्रतियोगी

प्रकाशित : बुधबार, भदौ ११, २०८२१८:४८